Type Here to Get Search Results !

बीपी राजमार्गको रिठ्ठेभिरमा किन टाँसियो ऐना ? भित्री कारण भने यस्तो छ …………

0
Click Me 💖

पूर्वी पहाडी र मध्य तराईका जिल्लाबाट राजधानी काठमाडौं भित्रने बाहिरिने सबैभन्दा छोटो दूरीको बनेपा-सिन्धुली-बर्दीवास (बीपी) राजमार्गमा दैनिक पाँच हजार बढी ठूलासाना सवारी साधन आवतजावत गर्दछन्। नियमित रुपमा आवतजावत गर्ने सावरीसाधनमात्र हैन यस राजमार्गमा नेपालको पूर्वी जिल्लाबाट राजधानी र राजधानीबाट पूर्वी जिल्लासम्म घुम्न निस्कनेहरूका सवारीको पनि उत्तिकै चाप हुन्छ।

बर्दिवासबाट सुनकोसी र रोसी नदीको तीरैतीर अनेकन् घुम्तीमोड, उकालो र ओरालो छिचोल्दै काभ्रेको धुलिखेल बनेपासम्म १६० किलोमिटर लामो दूरीको यात्रा बीपी राजमार्गबाट गर्न सकिन्छ।

तर, चारखण्डमा विभाजन गरेर जापान सरकारले झण्डै २५ अर्ब रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिदिएको बीपी राजमार्गको अन्तिम तथा चौथो खण्ड खुर्कोट-नेपालथोक (३७ कि.मि.) को रिठ्ठेभिरमा पुग्ने पुराना तथा नयाँ चालक र यात्रुका लागि भने एउटा आश्चर्य लाग्दो दृष्यले एकछिन रोक्किन बाध्य पुर्‍याउँछ।

सडकको भित्ता खोपेर बनाइएको एउटा सानो सेतिदेविको मन्दिर र त्यसको वरीपरी भित्तैभरी झुण्डाइएका हजार बढी ऐना।

जहाँ एक हजारबढी ऐनैऐनाका बीचमा सेतिदेवी माइको स्थापना गरिएको छ। दैवी शक्तिमाथिको आस्था र सुरक्षित यात्राको मनोभावनासँग जोडिएको यो ठाउँ सिन्धुलीको सुनकोसी गाउँपालिका ५ मुलकोट नजिकै छ। रिठ्ठेभिरको तल अक्कर भिर र सुनकोसी नदी छ।

दु’र्घटना श्रृंखला

यहाँ पुग्नेहरूलाई मन्दिर र ऐना किन राखियो भन्ने कौतुहलता पक्कै लाग्न सक्छ। रिठ्ठेभिरमा ऐनैऐनाको बीचमा सेतीदेवीको मन्दिर स्थापना गर्नुको कारण आश्चर्य र डरलाग्दो भएको स्थानीय बताउँछन्।

यो त्यही ठाउँ हो जहाँ २०६८ वैशाख २० गते एउटा यात्रुबस रिट्ठेभिरबाट सुनकोसीमा खस्दा १४ जनाको घटनास्थलमै ज्यान गएको थियो। त्यसको पाँच महिनापछि असोज २६ गते सोही ठाउँमा सिन्धुलीबाट काठमाडौं जाँदै गरेको यात्रुबस सुनकोसीमा खस्दा ४२ जनाले घटनास्थलमै ज्यान गुमाए।

त्यसको ठिक ६ वर्षपछि २०७४ असोज २६ गते सोही स्थानमा अर्को बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो। २०७० भदौ ३१ गते रिट्ठेभिरमै भएको जिप दुर्घटनामा तीनजनाले ज्यान गुमाएका थिए। त्यसयता उक्त ठाउँमा मात्र भएका सवारी दुर्घटनामा एक दर्जनबढीको ज्यान गइसकेको छ।

पहिलो पटक सडक दुर्घटना देखेर त्रसित स्थानीयहरू त्यसयता पटक पटक हुने दुर्घटनाबाट थप भयभीत भएको सेतिदेवी मन्दिरका पुजारी नीरप्रसाद आचार्य सुनाउँछन्।

२०६८ असोज २६ गते ४२ जनाको ज्यान जानेगरी भएको बस दुर्घटना देखेका स्थानीय बालबालिका, तन्नेरी र वृद्धवृद्धासमेत तर्सने, कहालिने र बर्बराउने गर्न थालेपछि सिन्धुलीका तत्कालीन प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारीको पहलमा मनमा पैदा भएको भय भगाउन सप्ताह पुराण लगाइएको पुजारी आचार्यको भनाई छ।

अनेक विश्वास

‘दुर्घटनाका मृतकका आफन्तसहित लगाइएको पुराणमा एक महिलाले काम्दै सुनकोसीको एउटा ढुङ्गा टिपेर देखाउँदै म सेतिदेवी हुँ, मेरो बासस्थानमा सडक निर्माण गर्दा क्षति पुर्‍याएपछि मैले मान्छेको भोग खान थालेको हुँ’,

आचार्य त्यो घटना सम्झन्छन्,’मलाई सडकमै मन्दिर बनाएर बस्न दिएमात्रै राम्रो गर्छु। नत्र थप क्षति गर्छु।’ यो घटनापछि जापान सरकारले नै सडकको भित्तो खोपेर मन्दिर बनाइदिएपछि ऐना चढाउने र पूजा गर्न थालिएको उनी सम्झभन्छन्।

ती महिलाको भनाई र रिठ्ठेभिरमा सडक निर्माण गर्दा एक्साभेटर पल्टिने, बिग्रिनेजस्ता अनपेक्षित घटना हुने गरेपछि सडक निर्माण गर्दै आएको जापानिज कम्पनी हाज्माका प्राविधिकहरूको टोलीले सेतीदेवीलाई बोका बलि दिएपछि भने त्यस्ता घटना दोहोरिन छाडेको सेतिदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज श्रेष्ठ बताउँछन्।

‘यस्ता डरलाग्दा घटनाले अचम्मित बनाएपछि यहाँ सबैको पहलमा सेतिदेवीको मन्दिर स्थापना गरिएको हो,’ श्रेष्ठले भने।

ऐनामा विश्वास

देवी स्थापनाको केही दिनमै चालक बाल तामाङले आफ्नो बसको नम्बर ‘बा.२ ख. ८८८५’ लेखेर एउटा ऐना राखिएको ठाउँमा अहिले ठूला साना गरेर एक हजार बढी ऐना छन्। मृतकका आफन्त र चालकले सुरक्षाको लागि भन्दै देवीलाई चढाएको ऐना अहिले उक्त सडकमा यात्रा गर्नेहरू सबैको सुरक्षाको भरोसा बन्दै गएको सुनकोसी ५ का स्थानीय बताउँछन्।

‘एउटा चालकले सडक सुरक्षाका लागि भन्दै चढाएको ऐना अहिले हजार पन्द्र सय बढी छन्। यस सडकमा यात्रा गर्ने चालक र यात्रु पनि यात्रा सुरक्षाका लागि भन्दै ऐनामा विश्वास गर्ने गरेका छन्,’स्थानीय सुनाउँछन्।

बीपी राजमार्ग निर्माण हुनु पहिलाको कच्ची सडक र निर्माण सम्पन्न भएपछिको पक्की सडकमा पनि दर्जनौं दुर्घटनामा धेरैले ज्यान गुमाएपछि सुरु भएको यो ऐनाको विश्वास बढ्दो छ।

चाडबाडका बेला धेरै सवारी साधन दुर्घटना हुने हुँदा प्रायजसो चालकले मन्दिरमा भेटी चढाउने र देवीको दर्शन गर्दै यात्रा सुरक्षाका लागि भाकल गर्ने गरेको पुजारी अचार्य थप्छन्। उनको भनाईमा ढुंगामा देवताको बास हुने विश्वास गर्नेहरू नै ऐनामा सुरक्षाको विश्वास गर्छन्।

दुर्घटना बढ्दै जाँदा आफूले पनि शिर झुकाएर त्यहाँ पुजा गर्ने गरेको सिन्धुली-काठमाडौं टाटासुमो चलाउँदै आएका सिन्धुलीगढी यातायातका चालक गीताप्रसाद पहाडी बताउँछन्।

मन्दिरमा दैविशक्ती रहेको र ऐनाले मृतकको अनुहार देखिने र सम्झना आउने तथा सेतिदेवीलाई ऐना चढाउँदा खुसी हुने जनविश्वास छ। यो विश्वास हुन सक्छ वा अन्धविश्वास हुन पनि सक्छ।

तर प्रहरीको भनाईमा सयौं घुम्ती र साँघुरो सडकमा तीव्र गतीमा सवारीसाधन चलाउनु दुर्घटनाको मुख्य कारण हो। ‘धार्मिक विश्वास आफ्नो ठाउँमा छ’, जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका अनुसार, ‘ट्राफिक नियम पालना गर्दै आफ्नो दक्षता र अनुभवअनुसार सवारी साधन चलाए दुर्घटना न्यूनीकरण गर्न सकिन्छ।

Post a Comment

0 Comments