काठमाडौं– अभिनेत्री केकी अधिकारीले दुर्घटनाको फोटो, भिडिओ तथा अतिरञ्जित कथा बुनेर सामाजिक सञ्जालमा छरपस्ट नपार्न आग्रह गरेकी छन्।
आइतबार पोखरामा भएको यती एयरको दुर्घटनामा निधन भएकाहरूको परिवारमा समवेदना प्रकट गर्दै केकीले यो समय झनै संवेदनशील हुन आवश्यक रहेको बताइन्।
‘यो दुखद् घडीमा हामी सबैजना झनै बढी संवेदनशील हुन आवश्यक छ। ज्यान गुमाएका आफन्तहरूमाथि अझै बढी दुख थप्ने काम नगरौं,’ उनले फेसबुकमा लेखेकी छन्, ‘दुर्घटनाका फोटो, भिडियो तथा अतिरन्जित कथा बुनेर जथाभावी सामाजिक सञ्जालमा र आफू वरपर छरपस्ट नपारौँ। मान्छे हौं , मान्छे बनौं। सबैमा धैर्यधारण गर्ने शक्ति मिलोस्।शोकाकुल परिवारमा हार्दिक समवेदना!’यती एयरलाइन्सको ९एन–एएनसी एटीआर–७२ वायुयान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो विमानस्थल र नयाँ विमानस्थलको बीचमा रहेको सेती किनारमा दुर्घटनामा परेको थियो। दुर्घटनामा ७२ जनाले ज्यान गुमाएका थिए।